काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। उनी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिकप्रति आभार व्यक्त गर्न कर्णाली पुगेकी हुन्।
भ्रमणको क्रममा प्रधानमन्त्री कार्कीले आज बिहान मुगुस्थित रारा क्षेत्रको अवलोकन गरिन्। त्यसपछि उनले जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरिन्। उनले निर्वाचन सम्पन्न गर्न कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बाबजुद देखाइएको समन्वय र प्रतिबद्धतालाई प्रशंसा गरेकी छिन्।
मुगु भ्रमणपछि प्रधानमन्त्री कार्की जुम्लाको खलंगा पुगेर सुरक्षा प्रमुखहरूसँग छलफलमा सहभागी भइन्। उनले स्थानीय तहमा निर्वाचन सफल बनाउन सुरक्षा र प्रशासनिक संयोजनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन्।
यस क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न देखाइएको सहकार्य र एकताको प्रशंसा गरेकी छिन्। उनले नागरिक सहभागिताले लोकतान्त्रिक अभ्यासलाई सहज बनाउन सकारात्मक सन्देश दिएको पनि बताइन्।
प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकनसमेत गरिन्। वि.सं. २०३७ मा स्थापना भएको यो शिक्षालय देशकै प्रारम्भिक प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ।
भ्रमणको क्रममा स्थानीय विद्यार्थी, शिक्षक र बासिन्दाले प्रधानमन्त्रीलाई लालीगुराँसका फूलमार्फत स्वागत गरेका थिए।