काठमाडौँ । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ ।
अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो । अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीको मन्जुरी दिन भनेको छ ।
यो रकम अहिलेसम्म इरानमा भएको अभियानको लागतभन्दा कयौं धेरै भएको अखबारको भनाइ छ । यसको उद्देश्य खर्च भइसकेका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको समाचारमा उल्लेख छ ।
पछिल्ला दुई हप्तामा पेन्टागनका तर्फबाट ‘फन्डिङ’ का लागि अलग–अलग अनुरोध पेश भएको बताइएको छ ।
रकम वृद्धिका लागि गरिएको पछिल्लो माग कांग्रेसमा ठूलो राजनीतिक लडाइँको कारण बन्न सक्ने अखबारको भनाइ छ ।
अखबारले समाचार तयार पार्दासम्म अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस विषयमा मागेको प्रतिक्रिया अस्वीकार गरेको बीबीसीले जनाएको छ ।