काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको समग्र प्रतिवेदन आज रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।
आयोगका अनुसार, आज बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। त्यसपछि दिउँसो ४ बजे राष्ट्रपतिलाई निर्वाचनको पूर्ण विवरणसहितको प्रतिवेदन पेश गरिने कार्यक्रम तय गरिएको छ। प्रमाणपत्र वितरण कार्यक्रम कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा हुनेछ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएअनुसार, उक्त प्रक्रिया पूरा भएपछि आजै बेलुकी साढे ५ बजे पत्रकार सम्मेलनसमेत आयोजना गरिनेछ।
निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमत प्राप्त गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन्, जसमध्ये ५७ जना समानुपातिकतर्फका हुन्।
त्यस्तै, नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टीबाट १६, नेकपाबाट ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट ४–४ जना सांसद समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन्।