काठमाडौं । गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनी अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिट हासिल गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ।
निर्वाचनपछि थापाले राजीनामाको तयारी गरेका थिए। यद्यपि, पार्टीका विभिन्न तहका नेताहरूले उनलाई पद नछाड्न सुझाव र दबाब दिँदै आएका थिए।
थापा यसअघि विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। उनले दिएको राजीनामाबारे निर्णय लिन पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।