काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो स्वास्थ्य अनुभव साझा गर्दै सांसदहरूलाई पानी प्रशस्त पिउन र पिसाब रोक्न नहुने चेतावनी दिएका छन्।
पार्टीको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन क्रममा लामिछानेले चुनावी दौडका कारण आफू पर्याप्त पानी पिउन नसक्दा र पिसाब रोक्दा न्यूरो इन्फेक्सनको समस्या आएको उल्लेख गरे। उनले सांसदहरूलाई भने, “मचाहिँ न्यूरो इन्फेक्सनबाट ग्रसित भए भर्खरै। पानी कम पिउने र पिसाब रोक्ने कारण स्वास्थ्यमा समस्या भयो। अहिले त्यसबाट बाहिर आउँदै छु।”
साथै उनले सांसदहरूलाई पारदर्शी राजनीति र जनतासँग प्रत्यक्ष सम्पर्कको महत्व पनि सम्झाए। लामिछानेले भने, “सधैं भिजेको, असिनपसिन भएको र जनतासँग गाँसिएको अनुहार मैले तपाईंहरूमा देख्न चाहन्छु।”
करीब ३२ मिनेटको भाषणमा उनले सांसदहरूलाई पार्टीमा आँच नआउने गरी काम गर्न र लक्षित टिप्पणी नगर्न समेत अनुरोध गरे।