मलेखु (धादिङ) – चितवनका प्रविन प्रजा अहिले केवल कफीको कप सम्हालिरहेका छैनन्, उनी आफ्नै भविष्यको खाका पनि बुन्दैछन्। प्रत्येक ‘शट’ मिलाउँदै, उनले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बनाइरहेका छन्।
धादिङका रोशन बरुवालको दृष्टिकोण भने अलिक फरक छ। उनी यो सीपलाई वैदेशिक रोजगारीमा जानुअघि तयारी र फर्केर नेपालमै व्यवसाय गर्न लगानी जुटाउने माध्यम बनाउने सोचमा छन्। विपना पोखरेल भने आफ्नै देशको माटोमा कफीको सुगन्ध फैलाउँदै व्यावसायिक बन्ने अठोटमा छन्।
यो प्रशिक्षण नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित आरोहण शिक्षालयमा चलिरहेको छ। यहाँ बागमती प्रदेशका २० युवा बारिष्टा अर्थात कफी बनाउने तालिममा व्यस्त छन्। ‘सीप सिकौं, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङले कार्यक्रम सञ्चालन गरिरहेको छ।
तालिममा सहभागी युवामा देखिएको उत्साहले सीपप्रतिको बढ्दो आकर्षणलाई प्रमाणित गर्छ। चितवनका प्रजा भन्छन्, “कफी बनाउनु आधुनिक कला रहेछ। अब म यही सीपलाई व्यवसायमा बदलेर आफ्नै खुट्टामा उभिन चाहन्छु।”
नीलकण्ठ–३ का बरुवालका लागि तालिम वैदेशिक रोजगारीको पूर्वतयारी हो। उनले भने, “बाहिर गएर राम्रो कमाउने र पछि नेपालमै फर्केर व्यवसाय गर्ने मेरो धोको हो।”
विपना पोखरेल भने आफ्नो उद्देश्य स्पष्ट पार्दै भन्छिन्, “हातमा सीप र लगानीको वातावरण भए आफ्नै गाउँ र देशमा स्वरोजगार बन्न सकिन्छ र अरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ। म यही लक्ष्यका साथ कफी बनाउने कला सिक्दैछु।”
तालिमको उद्देश्य बेरोजगार युवालाई प्राविधिक दक्षता प्रदान गर्नु हो। सामाजिक विकास कार्यालय गजुरीका प्रमुख रमेश घिमिरेका अनुसार, “सीपमूलक तालिमले युवालाई केवल श्रम बजारमा पठाउँदैन, आत्मविश्वास बढाउँछ र स्वरोजगारीका अवसर खोल्छ।”
स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण छ। नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए, “सिकेको सीप खेर जान नदिई व्यावसायिक रूपमा अघि बढ्न प्रोत्साहन दिने थप कार्यक्रम ल्याइनेछ।”
बारिष्टा तालिम ३९० घण्टाको अभ्याससम्पन्न कार्यक्रम हो। सहभागीहरूले कफीको छनोट, रोस्टिङ, विभिन्न प्रकारका कफी बनाउने र ग्राहकसँग व्यवहारसम्बन्धी ज्ञान सिकिरहेका छन्। सामान्यतया काठमाडौं वा पोखरा जस्ता सहरमा व्यावसायिक तालिम लिन रु १५–३० हजारदेखि एड्भान्स कोर्सका लागि रु ९० हजारसम्म खर्च लाग्छ।
तर, निशुल्क तालिमले विपन्न र जेहेन्दार युवालाई पहुँच दिएको छ। तालिम संयोजक शोभा डङ्गोल भन्छिन्, “गाउँमै नि:शुल्क तालिमले युवाको उत्साह बढाएको छ र भोलिका दिनमा सफल उद्यमी वा दक्ष बारिष्टा बनाउने निश्चित छ।”
बागमती प्रदेश सरकारको प्रयासले युवालाई विदेश पलायन हुनबाट रोक्ने र स्वदेशमै अवसर सिर्जना गर्ने कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।