काठमाडौं — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ।
अहिले कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने कोशी, लुम्बिनी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। देशका अन्य भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकीको तराई तथा बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।