काठमाडौँ- रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ।
आयोगका अनुसार नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले आफ्नो सेवा अवधि नवीकरण गराउन नगर प्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको आरोप छ। आर्थिक वर्ष २०८१/८२ मा करार अवधि थप गर्न उक्त रकम दिएको र त्यसपछि आगामी आर्थिक वर्षका लागि पनि रकम माग गरिएको विवरण उजुरीमा उल्लेख गरिएको छ।
घुस रकम उपलब्ध नगराउँदा करार अवधि नथपिएको भन्दै शाहले आयोगमा उजुरी दिएका थिए। सोही आधारमा अनुसन्धान अघि बढाइएको थियो।
आयोगले गरेको अनुसन्धानबाट सेवा करार अवधि निरन्तर गराउनका लागि नगर प्रमुखलाई रकम प्रदान गरिएको र त्यसअनुसार करार नवीकरण भएको पुष्टि भएको दाबी गरिएको छ। उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर मान्दै दुवै जनाविरुद्ध अभियोग दायर गरिएको आयोगले जनाएको छ।