कोलम्बो — श्रीलङ्का मा बढ्दो इन्धन सङ्कटलाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालयहरूको कार्यतालिकामा परिवर्तन गरेको छ।
सरकारद्वारा मंगलबार जारी सूचनाअनुसार मार्च १८ देखि हरेक बुधबार सरकारी कर्मचारीका लागि साप्ताहिक बिदा दिइने निर्णय गरिएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ।
आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीका अनुसार सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहनेछन्। यद्यपि स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
यसका साथै, कार्यालय प्रमुखहरूलाई बाँकी चार कार्यदिनभित्र आवश्यकताअनुसार कर्मचारीलाई काममा बोलाउने अधिकार दिइएको छ।
इन्धन संकटलाई व्यवस्थापन गर्न सरकारले सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको छ। साथै निजी क्षेत्रलाई पनि सकेसम्म समान प्रकारको व्यवस्था अपनाउन अनुरोध गरिएको छ।