काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल ले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको जिम्मेवारीलाई इमानदारी र परिणाममुखी ढंगले निर्वाह गर्न आग्रह गरेका छन्।
सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थालाई महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। यस्तो अवसरको सही उपयोग गर्न नसके भविष्यमा आफ्नै कार्यप्रति समीक्षा गर्न कठिन हुने उनको भनाइ थियो।
अर्यालले समाजमा अनुशासन कायम गर्न राजनीतिक संस्कार सुधार आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक सेवा लिँदा नेताको पहुँच खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। शिक्षा, स्वास्थ्य र कर प्रशासनमा पारदर्शिता र समान व्यवहार सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो।
उनका अनुसार अस्पताल, विद्यालयजस्ता क्षेत्रमा राजनीतिक सिफारिसको अभ्यास हटाउनुका साथै कर तिर्दा हुने अनौपचारिक भुक्तानीको अन्त्य गरिनु आवश्यक छ।
सरकार गठन र त्यससँग जोडिएका जिम्मेवारीहरू संवेदनशील भएकाले जनताको अपेक्षा अनुरूप काम गर्न सांसदहरू सचेत हुनुपर्ने उनले बताए।