काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन पार्टीका उपाध्यक्ष डीपी अर्याल र स्वर्णिम वाग्ले ले घण्टी बजाएर गरेका हुन्।
ललितपुरको ग्वार्कोस्थित होटेल टुलिप मा आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ।
कार्यक्रमका क्रममा जेन–जेड आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडा की आमा रचना खतिवडा भावुक बनेकी थिइन्। उनलाई भेट्दा पार्टीका नेता सुदन गुरुङ ले अंगालो हालेर समवेदना व्यक्त गरेका थिए।
फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजाअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिक प्रणालीबाट थप ५७ सांसद निर्वाचित भएका छन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार अभिमुखीकरण कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा पार्टी नेतृत्व र विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण तथा प्रस्तुति दिने कार्यक्रम रहेको छ।