उदयपुर – कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा सोमबार साँझ आएको हुरीबतासले दुई जनाको ज्यान लिएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापा का अनुसार कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङ कुटमेरो रुखको हाँगामा लागेर मृत्यु भएकी छन्।
त्यसैगरी कटारी–५ तीनकुने चोक नजिक राधाकृष्ण मन्दिरको छेउमा ढलेको सखुवा रुखले ६४ वर्षीय वीरेन्द्र चौधरी को मृत्यु भएको छ।
घाइतेमध्ये कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामीमगर, कटारी–५ का पाँच वर्षीया बिनिशा चौधरी (वीरेन्द्र चौधरीकी नातिनी), २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, ४६ वर्षीय लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन्।
घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी चार जनालाई कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रहरीका अनुसार शव परीक्षणका लागि कटारी अस्पतालमा तयारी भइरहेको छ। हुरीबतास र वर्षाका कारण कटारीका पहाडी क्षेत्रका घरका छाना उड्नु, र अन्य सामान्य क्षति पनि देखिएको छ।