काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि मध्यम बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै यी तीनै प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति भने गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।