ढोरपाटन (बागलुङ)। बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरिएको छ। ढोरपाटन नगरपालिका का सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका ५ हजार ६५६ बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको हो।
नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न बस्तीमा दादुरा संक्रमण देखिएपछि खोप अभियान सुरु गरिएको थियो। गत फागुन २९ देखि चैत १ गतेसम्म अभियान सञ्चालन गरिएको थियो भने छुटेका बालबालिकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पताल बाट खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ ले जनाएको छ।
सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालयको टोली ढोरपाटन क्षेत्रमा खटिएको छ। हालसम्म सात जनामा संक्रमण पुष्टि भइसकेको छ भने १०३ जना शंकास्पद बिरामी रहेका छन्।
त्यस्तै, २१ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। अहिले बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्यचौकीमा ६ जना उपचाररत रहेका छन्।
स्वास्थ्यकर्मीले विद्यालय जाने तथा नजाने दुवै समूहका बालबालिकालाई लक्षित गरी विद्यालय, घर तथा स्वास्थ्य संस्थामार्फत खोप अभियान जारी राखेका छन्। खोप लगाएपछि संक्रमण नियन्त्रणमा आउने अपेक्षा गरिएको घिमिरेले बताए।
दादुरा संक्रमणका कारण अस्थायी रूपमा बन्द गरिएका स्थानीय विद्यालयहरू पनि क्रमशः सञ्चालनमा आएका छन्। संक्रमण घट्दै गएपछि करिब दुई सातापछि विद्यालय खोलिएको हो।
ढोरपाटन नगरपालिका का स्वास्थ्य प्रमुख भूमिश्वर शर्माका अनुसार संक्रमितहरूको उपचार र बालबालिकालाई खोप लगाएपछि विद्यालय सञ्चालन गर्न थालिएको हो। यसअघि फागुन २१ गते बोबाङ गाउँका केही बालबालिकामा लक्षण देखिएपछि नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो।