काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले अनुगमनका क्रममा श्रीराम ग्यास उद्योग को ललितपुरस्थित हरिसिद्धि गोदामबाट ठूलो संख्यामा ग्यास सिलिन्डर भण्डारण गरिएको फेला पारेपछि उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार गोदाममा १४.२ किलो तौलका ६ हजार ३७७ वटा ग्यास सिलिन्डर भण्डारण गरेर राखिएको अवस्थामा भेटिएको हो। अनुगमन टोलीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले सिलिन्डर लुकाएर राखिएको आशंकामा कारबाही गरेको जनाएको छ।
विभागले ती सिलिन्डरलाई नेपाल आयल निगम को समन्वय र रोहबरमा बजारमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन उद्योगलाई निर्देशन दिएको छ।
यसैबीच, विभागले ग्यासको माग उच्च रहेको समयमा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणाली सहज बनाउन सबै व्यवसायीलाई आग्रह गरेको छ।
निगमका अनुसार पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशंकामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा वितरण व्यवस्थामा समस्या देखिएको छ।