काठमाडौँ। सरकारले खाना पकाउनको लागि ग्यासमा निर्भरता घटाउन र इन्धनको माग व्यवस्थापन गर्न विद्युतीय चुलो (इन्डक्सन स्टोभ) को प्रयोग प्रवर्धन गर्ने विशेष योजना अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हालै बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७४औं बैठकमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा विद्युतीय चुलो प्रयोग गर्ने उपभोक्तालाई विद्युत् महसुलमा सहुलियत दिने कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ।
बैठकले घरायसी प्रयोगका लागि विद्युतीय चुलो खरिदमा प्रोत्साहन गर्ने मात्र नभई, पुराना विद्युतीय प्रणालीलाई स्तरोन्नति गर्ने उपायसमेत अघि बढाउने निर्णय गरेको छ।
यसका साथै, उच्च इन्धन खपत हुने क्षेत्रहरू जस्तै होटेल, रेस्टुरेन्ट, छात्रावास र सुरक्षा निकायका ब्यारेकहरूमा वैकल्पिक ऊर्जाको प्रयोग अनिवार्य वा प्रोत्साहन गर्ने रणनीति समावेश गरिएको छ। यसले ऊर्जा खपत घटाउन र वातावरणमैत्री विकल्पलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।