काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण सरकारले खाडी तथा अन्य केही देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) अस्थायी रूपमा स्थगन गरेको छ। इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण सरकारले इजरायल, टर्कीसहित ११ देशमा श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो।
तर पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिएका छन्। तीमध्ये ४६ हजार ४५२ पुरुष र ६ हजार ३९२ महिला रहेका छन्।
उक्त महिनामा २८ हजार ३८३ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको १७ दिन पुगेको छ। इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ। यसका कारण यूएई, कतार, साउदी अरेबिया, ओमान, बहराइन लगायत देशमा रहेका नेपालीहरूको सुरक्षाबारे चिन्ता बढेको छ।
सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको जनाएको छ। फागुन १७ गते श्रममन्त्रीस्तरीय निर्णयबाट श्रम स्वीकृति तथा नवीकरण रोकिएको हो।
फागुन महिनामा सबैभन्दा धेरै नेपाली मलेसियामा गएका छन्। मलेसियामा १२ हजार ६०१, यूएईमा ११ हजार ४९२, कतारमा ६ हजार ७७५ र साउदी अरेबियामा ६ हजार २२५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरू विदेश गएकाले उक्त महिनामा जानेको संख्या उल्लेख्य देखिएको हो। यसअघि माघमा ७० हजार ५०३, पुसमा ६२ हजार ५५९ र मंसिरमा ६५ हजार ७०५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।