काठमाडौँ । प्रतिनिधि सभामा गुल्मी-१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले गरेको स्वकीय सचिवलाई गरिएको नियुक्तिसम्बन्धी निर्णय सच्याउन आग्रह गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले यसअघिका योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले ती निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।
ढकालले सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्नुका साथै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
ढकालले लेखेका छन्, ‘आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन् । हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ । जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ ।’
उनले कुनै विज्ञता वा अनुभवबिनै प्रधानमन्त्रीका स्वकीय सचिव भएको आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व दिन नमिल्ने टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘न कुनै विज्ञता, न अनुभव, मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव । यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ ?त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ।’