काठमाडौं – गोरखाको सहिद लखन गाउँपालिका-३, कान्टारमा बिहीबार एक माइक्रो बस दुर्घटना हुँदा सात जना भारतीय तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मनकामना मन्दिरको दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो ।
मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् । उनीहरू सबै छिमेकी मुलुक भारतबाट मनकामना दर्शनका लागि आएका पर्यटक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी दिए । मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनीस्थित अस्पताल पुर्याइएको छ । चालक र सहचालकसहित १६ जना सवार उक्त माइक्रो बसमा १४ जना भारतीय तीर्थयात्रीहरू रहेका थिए ।
घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थियो । तीव्र गति वा प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए तापनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।