काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार परियोजनाको पश्चिम खण्डमा निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ।
जामुनेदेखि पोखराको पृथ्वीचोकसम्म फैलिएको करिब ३९ किलोमिटर सडक खण्डमा हालसम्म समग्र भौतिक प्रगति ७१ प्रतिशत पुगेको आयोजना पक्षले जनाएको छ। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार करिब ३५० मिटर भाग बाहेक यस खण्डका अधिकांश स्थानमा कालोपत्रको काम सम्पन्न भइसकेको छ।
यसै खण्डमा पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। उक्त पुलको हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको बताइएको छ। आयोजनाका अनुसार पुलको फाउन्डेसन र एंकर ब्लक निर्माण सकिएको छ भने अहिले सुपर स्ट्रक्चर निर्माणको काम जारी छ। करिब १ अर्ब ७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ।
परियोजनाको प्रारम्भिक चरणमा विद्युत् पोल स्थानान्तरण र मुआब्जा सम्बन्धी विवादका कारण केही ढिलाइ भए पनि अहिले काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको आयोजना पक्षले जनाएको छ। यस खण्डमा निर्माण गर्नुपर्ने १२ वटा पुलमध्ये सबैको काम सम्पन्न भइसकेको पनि जानकारी दिइएको छ।
एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सञ्चालित यो परियोजना सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले करिब ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लिएको हो।
सडक कालोपत्रको काम अन्तिम चरणतर्फ पुगेसँगै यस मार्ग प्रयोग गर्ने यात्रुहरूले धुलो र हिलोको समस्या कम हुँदै गएको अनुभव गर्न थालेका छन्।