काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।
रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।
उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् ।
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।
पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको नेताहरूले जानकारी गराएका छन् ।
प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।