काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५-१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।
यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१-३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०-३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशको पोखरामा आज २६-२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३-२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७-१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । “हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने ।