काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार, समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो। मंगलबार साँझसम्म तीन-चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ।
मंगलरबा राति पौने ८ बजेसम्म १ करोड ५ लाख ८६ हजार ४५४ मत गणना गरिएको छ। जसमध्ये रास्वपाले ५० लाख ७१ हजार २७४, कांग्रेसले १७ लाख २२ हजार १२४, नेकपा (एमाले)ले १४ लाख ३२ हजार ६ सय, नेकपाले ७ लाख ८५ हजार ४६०, श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार ४९१ र राप्रपाले ३ लाख २७ हजार ३५८ मत पाएको छ।
मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने आयोगका प्रवक्ता जीसीले जानकारी दिए। अन्तिम परिणाम बुधबार बिहान नभए दिउँसोसम्म सार्वजनिक हुने आयोगको अनुमान रहेको उनले बताए।
‘समानुपातिकतर्फ आज बिहानसम्म १२-१३ निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा थियो। त्यो बाहेक अरु सबै निर्वाचन क्षेत्रको परिणाम आइसकेको थियो,’ प्रवक्ता जीसीले भने, ‘तीन-चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहेको छ। आज मध्यराति वा भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्छ भन्ने जानकारी आएको छ।’
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने प्रवक्ता जीसीको भनाइ छ।
त्यस्तै, औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको छ। यो बढ्न सक्ने उनको भनाइ छ। ‘मैले हेर्दा केही जिल्लामा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखेको छु। तर गत निर्वाचनको समेत डेटालाई अध्ययन गर्दा सरदर ५ प्रतिशत मत बदर हुन्छ कि भन्ने छ,’ उनले भने।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दललाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्नेछ। त्यसपछि समानुपातिक सांसद चयन हुनेछन्। ‘समानुपातिकको मत गणना सम्पन्न भइसकेपछि राजनीतिक दललाई सिट बाँडफाँडको लागि हामी पत्राचार गर्छौं,’ उनले भने।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ र नेकपा (एमाले) ले ९ सिट जितेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। समानुपातिकतर्फ समेत रास्वपाले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ।