काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्। उनको सचिवालयका अनुसार भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई बुधबार त्यसतर्फ जान लागेका हुन्।
सम्मेलन मार्च १२ देखि १४ सम्म सञ्चालन हुनेछ। समिटमा विश्व शासन प्रणाली, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता समसामयिक विषयमा केन्द्रित भएर छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।
उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने सम्मेलनलाई समसामयिक वैश्विक मुद्दामाथि बहस र सहकार्यका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।
भट्टराई मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।