काठमाडौँ । बांङ्लादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्देश जारी गर्दै उनले उक्त निर्वाचनलाई सफल लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गरेका हुन्। रहमानले निर्वाचन प्रक्रियाले नेपाली जनताको आकांक्षा, सहनशीलता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको बताएका छन्।
उनका अनुसार मार्च ५, २०२६ मा सम्पन्न संसदीय निर्वाचनले लोकतन्त्रप्रति नेपाली जनताको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ। उनले यस्तो अभ्यासले लोकतान्त्रिक मूल्य र प्रक्रियाप्रति जनताको विश्वासलाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।
प्रधानमन्त्री रहमानले नेपाल र बांङ्लाशबीच दीर्घकालदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई आगामी दिनमा थप सुदृढ बनाउन चाहेको पनि बताएका छन्। यसका लागि उनले नेपालको नयाँ सरकार तथा नेपाली जनतासँग सहकार्य गर्दै अघि बढ्ने इच्छा व्यक्त गरेका छन्।