काठमाडौं।प्रतिनिधिसभाको निर्वाचनपछि हिमाली विकट जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत संकलन भैरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार १० वटा दुर्गम स्थानका मतपेटिका हेलिकप्टरबाट संकलन गरिएका छन् । ‘कतिपय जिल्लामा संकलनको क्रममै छन् । आज बेलुकीसम्म सबै दुर्गम स्थानको मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिसकिनेछ’ उनले भने।
बिहिबार मतदानको काम सकिएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरु हुने बताएका छन् । दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको हो। ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ, रुकुम पूर्वी भागका मतपेटिका मतगणना स्थल पुराइएको छ। साथमा संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा, हुम्लाका मतपेटिका संकलनको काम भैरहेको प्रवक्ता भट्टराईले बताए ।