काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ ।
आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको छ।
‘दिउँसो २ बजेसम्ममा करिब ३५ देखि ४० प्रतिशत मतदान उल्लास र शान्तिपूर्ण तरिकाले भइसकेको छ’, घिमिरेले भने, ‘हामीलाई ७७वटा जिल्लाबाट विवरण आउने क्रम जारी छ। हालसम्मको तथ्यांक हेर्दा ३५ देखि ४० प्रतिशत भन्दा बढी मतदान भएको छैन।’
यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए।
निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’