काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए ।
आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।
आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा पाँच हजारभन्दा बढी पर्यवेक्षकहरू परिचालन हुने उल्लेख गरे ।
त्यस्तै उनले अहिले मौन अवधि भएकाले यसबीचमा आएका आचारसंहिता उल्लङ्घनका घटनाहरूमा आयोगले कानुनबमोजिम काम गरिरहेको जानकारी दिए ।
त्यसैगरि निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको र सरकारका तर्फबाट पनि सुरक्षाका सवालमा सक्रियतापूर्वक काम भएको उनले बताए । प्रवक्ता भट्टराईले फागुन २१ गते आफ्नो मत बदर नहुने गरी मतदान गर्न अनुरोध समेत गरेको छ ।