काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा व्यवस्था अपनाउन आग्रह गरेको छ ।
बैंकले सचेतना सन्देशमार्फत डिजिटल प्रविधिको प्रयोगसँगै साइबर दुरुपयोगको जोखिम पनि बढ्दै गएको उल्लेख गरेको हो ।
राष्ट्र बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि तीन तहको सुरक्षा अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ ।
जुन निम्न अनुसार छन् :
पहिलो तह- यो तहले तपाइलाई मात्रै थाहा हुने जानकारीलाई जनाउँछ । जस्तै: पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर पर्छन् । यस तहको सुरक्षा मुख्यरुपमा तपाईँको ज्ञान र सम्झनामा भर पर्छ । यस्तो जानकारी पूर्ण रूपमा गोप्य राख्न बैंकले सुझाव दिएको छ ।
दोस्रो तह- तपाईँसँग मात्र हुने यो तहमा त्यस्ता वस्तु पर्छन्, जसको पहुँच केबल तपाईँसँग मात्रै हुन्छ । यसमा मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन जस्ता उपकरणहरू समावेश हुन्छन् । यी माध्यमहरूले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्न सहयोग पुर्याउने बैंकको भनाइ छ ।
तेस्रो तह- यस अन्तर्गत औँठाछाप, अनुहार चिन्ने प्रणाली व्यक्तिगत बायोमेट्रिक विवरणहरू, आँखाको स्क्यान जस्ता बायोमेट्रिक विवरण पर्छन् । डिजिटल वित्तीय कारोबार गर्दा उल्लिखित प्रमाणीकरण विधिहरू प्रयोग गर्न र आफ्ना व्यक्तिगत विवरण अत्यन्त गोप्य राख्न राष्ट्र बैंकले आग्रह गरेको छ ।