काठमाडौं- प्रतिनिधिसभा निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहँदा म्याग्दीका गाउँगाउँमा उम्मेदवार र दलका नेता कार्यकर्ताहरूको चहलपहल बाक्लिएको छ ।
भेला, घरदैलो, सामाजिक सञ्जाल प्रचार र घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका सकिएको छ । जनताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरुको कुरा सुनिसकेपछि प्रश्न सोध्न थालेका छन्, ‘अघिल्ला वाचा पूरा भए कि भएनन् ?’
प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिस्पर्धी राजनीतिक दल र उम्मेदवारहरूले विकास, रोजगारी र पूर्वाधारजस्ता पुराना मुद्दाहरुलाई मुख्य एजेन्डा बनाएका छन् । तर स्थानीय तहका तथ्यांक हेर्दा अघिल्लो निर्वाचनमा प्रतिबद्ध गरिएका केही योजनाहरू अझै कागजमै सीमित देखिन्छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका महावीर पुनले शिक्षामा सुधार, आविष्कार तथा नवप्रवद्र्धन, रोजगारी र आयआर्जनलाई मुख्य मुद्दा बनाएका छन् । ‘सरकारले दिएको बजेट र पूरा भएका विकास निर्माणका कामको जस लिन राजनीतिक दल र जनप्रतिनिधिहरु अघि सर्छन् तर अपूरा र अधुरा योजना, आयोजना र पहिल्ला वाचा गरेर पूरा गर्न नसकेका कामहरुमा भने अरुलाई दोष लगाउछन्, आफू पन्छिन्छन्’, बेनी नगरपालिका–२ का मतदाता नारायण सापकोटाले भने ।
‘हरेक चुनावमा कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकको स्तरोन्नति, पर्यटन विकासका लागि पूर्वाधार निर्माण, हिमाली जिल्ला घोषणा भए पनि सेवासुविधा पाउन नसकेका कुरा, कृषि र उद्योगका मीठा सपना, बेरोजगारीको अन्त्य, युवा स्वरोजगार, शिक्षा र स्वास्थ्यमा पूर्वाधार र जनशक्ति थप्ने वाचा, ग्रामीण सडकको स्तरोन्नति, घरघरमा खानेपानी, खेतबारीमा सिँचाइलगायत मीठा आश्वासन सुनिन्छन् तर पूरा कहिल्यै हुँदैनन् । यसपटकको निर्वाचनमा पनि दल यिनै कुरालाई एजेण्डा बनाएर आएका छन्’, मंगला गाउँपालिका–५ का युवा मतदाता प्रमेश सेनले भने, ‘हामी भाषण सुन्न र आगामी घोषणापत्र हेर्न होइन विगतमा भएका कामको प्रगति प्रतिवेदन पढ्न र सुन्न चाहन्छौं ।’
विसं २०७९ को निर्वाचनअघि सार्वजनिक गरिएका घोषणापत्रमा सडक स्तरोन्नति, पर्यटन विकास, खानेपानी र सिँचाइ विस्तार र युवा रोजगारी सिर्जनाका कार्यक्रम प्रमुख थिए । तर जिल्ला समन्वय समितिको अभिलेखअनुसार केही योजनामा बजेट विनियोजन भए पनि कार्यान्वयन सुस्त देखिएको छ ।
‘जिल्लामा पूर्वाधार निर्माणलाई मात्र विकासको मानक मानिएको छ तर, सामाजिक समस्या, जातीय विभेद, चेतना विस्तार, गाउँ वा जिल्लामा नै युवालाई अवसर र बसाइँसराइ गर्नुका कारण र यसको समाधानका विषयमा राजनीतिक दल र जनप्रतिनिधिबीच कुनै बहस नै हुने गरेको छैन’, अन्नपूर्ण गाउँपालिका–१ दोवाका मतदाता टेबबहादुर गर्बुजाले भने, ‘हरेक चुनावमा एउटै पुल, सडक र अस्पतालको कुरा दोहोरिन्छ । चुनावपछि कसैले फर्केर सोध्दैन ।’
म्याग्दीमा विकास बजेटअन्तर्गतको खर्च थोरैमात्रामा हुने गरेको छ । चालु आर्थिक वर्षलाई नै हेर्ने हो भने पनि सात महिना बितिसक्दा पनि विकास खर्च भने न्यून मात्रामा भएको छ । म्याग्दीका लागि संघीय सरकारको बजेटतर्फ चालु खर्चमा कूल तीन अर्ब ४३ करोड ५९ लाख ७६ हजार ५१२ रुपैयाँ बजेट रहेकामा हालसम्म एक अर्ब ८८ करोड ३२ लाख ३७ हजार ७९१ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कोलेनिका म्याग्दीका अनुसार जिल्लाका लागि विनियोजित पुँजीगत खर्चतर्फ कूल तीन करोड ६२ लाख ३७ हजारमध्ये हालसम्म ७२ लाख २५ हजार ५५५ रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फ हेर्दा सात महिना बितिसक्दा १९ प्रतिशत मात्रै खर्च भएको हो । चालु खर्चतर्फ भने ५४ दशमलव ८ प्रतिशत खर्च भएको कोलेनिकाका अधिकृत मिनबहादुर बानियाँले जानकारी दिए । समग्रमा हेर्दा जिल्लामा ५४ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
प्रदेश सरकारतर्फको बजेटको अवस्था पनि त्यस्तै छ । म्याग्दीका लागि प्रदेश सरकारतर्फको चालु बजेट ४७ करोड सात लाख ४२ हजार रहेकामा हालसम्म १६ करोड ५२ लाख १३ हजार ५७५ खर्च भएको छ ।
त्यस्तै पुँजीगततर्फ ८२ करोड ८५ हजार बजेट रहेकामा हालसम्म २० करोड २८ लाख २१ हजार ६५ रुपैयाँ खर्च भएको छ । प्रदेशतर्फ हालसम्म चालु र पुँजीगत गरी कूल ३६ करोड ८० लाख ३४ हजार ६४० रुपैयाँ बजेट खर्च भएको छ । समग्रमा प्रदेशतर्फको बजेट खर्च २८ प्रतिशत हाराहारी मात्रै खर्च भएको छ । विगतका वर्षहरुमा पनि ६० प्रतिशतको हाराहारीमा विकास बजेट खर्चहुने गर्दथ्यो ।
विकास वजेट खर्च हुन नसक्नु र योजनाहरु अधुरै रहनुको कारणका बारेमा भने मतदाताहरु राजनीतिक दलका नेताहरुको भनाइ सुन्न चाहन्छन् । ‘म्याग्दीमा यसपटकको निर्वाचनमा मुद्दामा आधारित बहस बढेको छ । यसपटक युवा सामाजिक सञ्जालमार्फत विगतका कामको तथ्य खोज्न थालेका छन्, यो राम्रो अभ्यास हो’, राजनीतिक विश्लेषक तथा युवा बुद्धिजीवी यादव रिजालले बताए ।
विगतमा विकास अधुरा योजनाहरुको विषयमा यहाँका राजनीतिक दलका नेताहरुको भने शब्द अलग भए पनि आशय भने एउटै रहने गरेको छ । दलका नेताहरुको भनाइको निचोड भने विकास एकै कार्यकालमा सम्भव हुँदैन । हामीले प्रक्रिया अघि बढाएका छौँ, अब परिणाम देखिने चरणमा छ भन्ने हुने गरेको छ । दलहरुको यो भनाइलाई यहाँका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुले ‘राजनीतिक पुनर्चक्रण’ को आरोप लगाउँछन् ।
चुनावी चहलपहल बढ्दै जाँदा म्याग्दीमा प्रश्न पनि बढेका छन् । उम्मेदवारहरुले नयाँ सपना देखाइरहेका छन् तर मतदाताले पुराना हिसाब माग्न थालेका छन् । यसपटकको चुनाव केबल प्रचारको प्रतिस्पर्धा मात्र होइन, विश्वसनीयताको परीक्षा पनि बन्ने संकेत देखिएको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका प्राचार्य राजु केसी बताउछन् ।
चुनाव प्रचारमा देखियो उल्टो दृश्य
निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुलाई चुनाव प्रचारप्रसारका लागि दिएको समयको अन्त्य अन्त्यसम्म आइपुग्दा म्याग्दीमा केही अनौठा र केही उल्टा दृश्यहरु देखिएका छन् । ती दृश्यहरु केही रोचक छन् भने केही अत्यन्त सह्रानीय पनि छन् । निर्वाचनका बेला दल र उम्मेदवारहरुले मतदाताहरुलाई प्रभावित गर्न पैसा बाँड्ने, प्रलोभन देखाउने र आश्वासन दिने गर्दछन् भन्ने आरोप लाग्ने गर्दथ्यो तर यसपटक भने उल्टो दृश्य म्याग्दीमा देखिएको छ । यहाँ उम्मेदवारले मतदाताहरुलाई होइन मतदाताले उम्मेदवारलाई चुनाव खर्च भनेर आर्थिक सहयोग गरेका छन् ।
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाता र शुभेच्छुकहरुले चुनाव खर्च भनेर आर्थिक सहयोग गरेका छन् । ‘चुनाव प्रचारका लागि गाउँ गाउँमा डुल्दा १५ लाख रकम जनताले दिए,विदेशबाट शुभेच्छुकहरुले कति पठाइदिएका छन्, बैंक ‘स्टेटमेन्ट’ हेर्न भ्याएको छैन’, स्वतन्त्र उम्मेदवार पुनले भने ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेलाई पनि देशविदेशमा रहेका शुभेच्छुक तथा स्थानीय मतदाताहरुले चुनाव खर्च (खाना, यातायात, प्रचारप्रसार) भनेर आर्थिक सहयोग गरेका छन् ।
असल राजनीतिक संस्कार प्रदर्शन
यसपटक चुनाव प्रचारप्रसारका क्रममा यहाँका उम्मेदवारहरुले असल राजनीतिक संस्कार पनि प्रदर्शन गरेका मतदाताहरुले बताएका छन् । प्रतिद्वन्द्वी मानिएका राजनीतिक दलहरुले चुनाव प्रचार गर्ने क्रममा सँगै एउटै मञ्चमा बसेर आआफ्ना कुरा मतदातासँग राख्ने, उम्मेदवारहरुले प्रतिद्वन्द्वी उम्मेदवारका राम्रा पक्षहरुको वर्णन गर्ने, सभ्य र शिष्ट भाषाशैलीको प्रयोग, प्रतिद्वन्द्वी उम्मेदवारहरुले एकअर्कालाई अंगालो हाल्दै विजयको शुभकामना प्रकट गर्ने, एक उम्मेदवारले अर्को उम्मेदवारसँग आर्शिवाद लिनेजस्ता दृश्यहरु यहाँ देखिएका बेनी बजारका युवा व्यवसायी मोहन आचार्यले बताए ।
उत्तरी म्याग्दीको चुनाव प्रचारका क्रममा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर घिमिरेले सँगै एउटै मञ्चमा बसेर आआफ्ना कुराहरु राखेका थिए ।
त्यस्तै रत्नेचौरमा स्वतन्त्र उम्मेदवार महावीर पुनले नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीलाई ‘तिमीले चुनाव जित्नु’ भन्दै शुभकामना दिएका थिए भने बेनी बजारमा सँगै चिया पिउँदै नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले स्वतन्त्र उम्मेदवार पुनसँग आर्शिवाद लिएका थिए ।
यस्तो छ विगतको चुनावी चित्र
विगत तीन दशकयताको नतिजा हेर्दा म्याग्दीमा कुनै पनि राजनीतिक दलको स्थिर परिणाम देखिँदैन । विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए । प्रदेशसभाको क्षेत्र (क) र (ख) मा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट नेकपा माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (क) मा माओवादीका विनोद केसी र (ख) मा एमालेका नरदेवी पुन विजयी हुनुभएको थियो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए ।
विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निलबहादुर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, कांग्रेसले १३ हजार ६९३, माओवादी केन्द्रले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए ।
विसं २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका कांग्रेसका खमबहादुर गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत पाएका थिए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टीबाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक,श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मंगल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट पुन चुनावी प्रतिस्पर्धामा छन् ।
म्याग्दीमा निर्वाचनका लागि कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । यसमा महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ र अन्य एक जना रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस