काठमाडौँ- प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई सहज बनाउने उद्देश्यले नेपाल आयल निगम लिमिटेडका विभिन्न प्रादेशिक तथा डिपो कार्यालय तोकिएको मितिमा खुला रहने भएका छन्।
निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने हेतुले आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। सरकारको निर्णयअनुसार सार्वजनिक बिदा परे पनि आपूर्ति प्रणाली अवरुद्ध नहुने गरी देशका विभिन्न क्षेत्रका कार्यालयहरू सञ्चालनमा रहने उल्लेख गरिएको छ।
निगमले सम्पर्क व्यक्तिहरूको विवरणसमेत सार्वजनिक गर्दै आवश्यक समन्वयका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। निर्वाचन अवधिमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित र व्यवस्थित राख्न सम्पूर्ण संरचना परिचालन गरिने निगमले जनाएको छ।