दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ ।
बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।
चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका सहरबजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार मतदाता भेटघाटमा सक्रिय बनेका छन् । घरदैलो कार्यक्रम, टोलसभा, कोणसभा र अन्तरक्रिया कार्यक्रम दैनिकजसो भइरहँदा जिल्लाभर चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ ।
पछिल्ला दिनमा उम्मेदवार तथा तीनका समर्थक गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका लागि सवारीसाधनको प्रयोग बढेको छ भने मोटरसाइकल र गाडीको आवतजावतले बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ । मुख्य सडक, चोकचोकमा झण्डा, ब्यानर र पोस्टरले सजिएका छन् ।
मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेन्टमा ग्राहकको सङ्ख्या बढेको व्यवसायी बताउँछन् । विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अन्डालगायत दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ ।
घोराही, तुलसीपुरलगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्तायता व्यापारमा केही सुधार देखिएको छ । ‘अहिले चुनावी टोली दैनिकजसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ’, एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभइ चुनावी गतिविधिसँग मात्र सीमित छ ।
यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका माग बढेका छन् । केही पसलले त अतिरिक्त समय काम गर्नुपरेको बताएका छन् ।
जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए ।
उनका अनुसार विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महँगी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उनको भनाइ छ ।
चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताए । तर व्यवसायीको अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । अहिले सवारीसाधन, होटेल रेष्टुरेन्ट, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उहाँले बताउनुभयो । यससँगै जोडिएका क्षेत्रमा पनि केही वृद्धि भएको पाइएको अध्यक्ष अग्रवालले बताए ।