म्याग्दी । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनावी प्रतिस्पर्धामा रहेका सबै १२ उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले चुनावी खर्चलाई पारदर्शी र मितिब्ययी बनाउने उद्देश्यले गरेको निर्णय यहाँका सबै उम्मेदवारहरूले कार्यान्वयन गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए। उम्मेदवारको खर्च, आम्दानी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा खोलिएको खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालयले गर्ने उनले बताए ।
जिल्लाका उम्मेदवारले बढीमा रु। ३१ लाख सम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख रामप्रसाद शर्माले बताए।
कार्यालयका प्रमुख शर्माको संयोजकत्वमा खर्च आचारसंहिता अनुगमन समेत भइरहेको छ । भड्किलो खर्च रोक्नका लागि आयोगले पहिलो पटक छुट्टै खाता खोल्ने व्यवस्था मिलाएको छ । म्याग्दीमा निर्वाचन आचार संहिता सम्बन्धी पाँच वटा लिखित र चार वटा मौखिक उजुरी परेका छन् ।
उजुरीको विषयमा सम्बन्धित उम्मेदवारलाई सचेत बनाइएको आचार संहिता अनुगमन समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।
जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ८२ मतदान स्थल, एक सय २० वटा मतदान केन्द्र ८६ हजार तीन सय ९७ मतदाता कायम भएका छन् ।
जिल्ला कारागार शाखा र कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिए। निर्वाचनमा खटिने कर्मचारीहरू छनौट गरेर शुक्रबारदेखि नियुक्तिपत्र वितरण थालिएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुने जनाइएको छ ।
निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरूको अनुगमन गरी निर्वाचन लक्षित एकीकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
उनले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको विजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरुबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन सामग्री आइपुगेको र सबै सामाग्रीलाई मतदान केन्द्रका रूपमा छुट्टाछुट्टै तवरले व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।