काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सर्लाही ४ मा पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले जित्ने बताएका छन्।
चुनावी अभियानका क्रममा लालबन्दी पुगेका लामिछानेले काठमाडौँबाट आएर मधेशको बेटा बन्नेलाई रोक्ने जिम्मा सर्लाहीवासीको भएको बताएका हुन्।
‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ। यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो’ उनले काँग्रेस सभापति गगन थापालाई लक्षित गर्दै भने, ‘तर कोही काठमाडौँबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ। यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको।’
एकै पटक देशलाई न्याय दिने गरी पार्टीको पक्षमा उभिन आह्वान गरेका छन्।
उनले थपे, ‘सर्लाहीसँगको मेरो नाता पुरानो हो। म त्यही नातामा यहाँ उभिएको छु। हिजो सर्लाहीवासीलाई अन्याय पर्दा ज्यानको बाजी लगाएर लडेको हुँ। यस पटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ।’