बेलबारी(मोरङ) । आसन्न प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ ।
जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दंगालले जानकारी दिए ।
निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दंगालले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेको अति संवेदनशील निर्वाचन केन्द्रमा थप सुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ ।
मोरङको बेलबारी–१० भाउन्नेस्थित शुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसकेकी छन्। पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताइन् । बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै छिन् । उनले मतदान शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा ढुक्क रहेको उल्लेख गरिन् । रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदाता संख्या सात लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मोरङमा कूल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो । आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार ५३५ मतदाता थिए ।