काठमाडौं । डिफेन्डिङ च्याम्पियन भारतले टी–२० विश्वकपको तेस्रो सुपर–८ खेलमा दक्षिण अफ्रिकासँग ७६ रनको फराकिलो हार बेहोरेको छ।
प्रतियोगिताको इतिहासमा यो भारतको सबैभन्दा ठूलो हार हो। टीमले टी–२० विश्वकपमा लगातार १२ खेल जितेपछि पहिलोपटक हार बेहोर्यो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अफ्रिकी टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।
१८८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतीय टोलीको सुरुआत नै खराब रह्यो। ओपनर ईशान किशन खाता नै नखोली पहिलो ओभरमै एडेन मार्करमको सिकार बने। त्यसपछि मार्को यान्सेनले तिलक वर्मालाई पेभिलियन फर्काए। उनले मात्र १ रन बनाए।
भारतीय फ्यानहरुलाई सुपर–८ खेलमा अभिषेक शर्माको ब्याट चल्ने आशा थियो, तर उनले फेरि निराशाजनक प्रदर्शन गरे। लगातार तीन खेलमा शून्यमा आउट भएका अभिषेक यस खेलमा भने १५ रन मात्र बनाएर आउट भए।
यस खेलमा शिवम दुबेले पारी सम्हाल्ने प्रयास गरेका थिए, तर उनी ४२ रन बनाएर नवौं विकेटका रूपमा पेभिलियन फर्किए। उता, रिंकू सिंह भने खाता समेत खोल्न सकेनन्।
अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनायो। जवाफमा भारतीय टोली १८.५ ओभरमा १११ रनमै अलआउट भयो। मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजले ३ विकेट लिए। कर्बिन बोशले २ र एडन मार्करमले १ विकेट लिए। भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए।
यसअघि दक्षिण अफ्रिकाका तर्फबाट डेविड मिलरले ३५ बलमा ६३ रन बनाए। डेवाल्ड ब्रेविसले ४५ रन जोडे भने ट्रिस्टन स्टब्सले २४ बलमा अविजित ४४ रन बनाए। भारतका लागि जसप्रीत बुमराहले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिए।
सेमिफाइनलमा पुग्न ठूलो जित आवश्यक
भारतीय टोलीले समूह–१ को पहिलो खेल नै ७६ रनको फराकिलो अन्तरले हारेको छ।
यस हारसँगै टोलीको नेट रनरेट ३.८०० पुगेको छ। अब सेमिफाइनलमा पुग्न भारतले बाँकी दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ, ताकि उसको नेट रनरेट अन्य टोलीभन्दा राम्रो बन्न सकोस्।