काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शंका हटेको बताएका छन् ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन् ।
उनका अनुसार यो सरकार बनेको ५-६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको बताए । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पारेका छन् ।
अर्थमन्त्री खनालले भने, ‘जुन आशंका आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो । निर्वाचन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन् । उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठुलो संशय मुलुक सामु थियो । त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठुलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरू धेरै कामहरू गर्न सकिएन ।’
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताए । खनालका अनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताएका छन्।