काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन् ।
निर्वाचन आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक–एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ ।
त्यसरी खटिएका स्वंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराएका छन् । ती स्वयंसेवकको कामको अनुगमनका लागि विगतमा तोकिएको सम्पर्क व्यक्तिले स्थानीय तहमा अनुगमनको जिम्मेवारी पाएका छन् ।
आयोगले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम निर्वाचनका लागि ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । राजनीतिक दल र उम्मेदवारको सघन प्रचारप्रसार आरम्भ तथा मतदाता शिक्षाको कार्यान्वयनसँगै स्थानीय तह पनि एक प्रकारले निर्वाचनमय भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाकाका प्रमुख मोहनप्रसाद तुम्बापोले निर्वाचन आयोगको निर्देशानुसार आफूहरूले मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउँदै निर्वाचन आचारसंहिताको पालनामा पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
‘निर्वाचनका लागि आयोग र सुरक्षा निकायबाट भवन र कम्प्युटर माग भएको थियो । जेन-जी आन्दोलनमा जलाइएका कारण सोचे जति सहयोग गर्न सकेनौँ ।’, प्रमुख तुम्बापोले भने, ‘विशेष परिस्थितिमा अहिले चुनाव आएको छ । मुलुकका स्थायित्व र विद्यमान राजनीतिक प्रणालीको रक्षाका लागि हामी सबै लाग्नुपर्छ । हाम्रा भवन र संरचना जलाइएका भए पनि हामी पुनःव्यवस्थित हुँदैछौँ र निर्वाचनका लागि आफ्नो ठाउँबाट समन्वय गरिरहेका छौँ ।’
महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले आयोगको निर्देशनबमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै राजनीतिक प्रतिस्पर्धा भए पनि एक अर्कामा मिलेर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने सचेतनामूलक कार्यक्रम गरिएको बताए।
उनले निर्वाचन मुलुक विशिष्ट आवश्यकता र लोकतन्त्रको आभारस्तम्भ भएकाले तडकभडकरहित मित्रवत प्रतिस्पर्धाबाट मैदानमा लाग्न सबै दल र उम्मेदवारबाट भूमिका निर्वाह होस् भन्नेतर्फ आफूहरूले सहजीकरण गरिरहेको बताए।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले निर्वाचन आयोगबाट तोकिएका सम्पर्क व्यक्ति (फोकल पर्सन) बाट मत दबर नहोस् भनेर मतदातासमक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र त्यसका पालिकाले आवश्यक समन्वय गरिरहेको बताए।
उनले नेपाली सेनालगायत चारै सुरक्षा निकाय र निर्वाचन सुरक्षा प्रहरीसमेतका लागि अस्थायी बसोबासजस्ता काममा पनि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गरिरहेको जानकारी दिए ।
जेन-जी आन्दोलनका क्रममा कतिपय स्थानीय तहका संरचना जलाइएका कारण ती तहका भवन र संरचना प्रयोग गराउन असुविधा देखिए पनि निर्वाचनका लागि आवश्यक सहयोग भइरहेको पाइएको छ ।
निर्वाचन आचारसंहिताको पालनामा पनि स्थानीय तहले सहयोग गरिरहेका छन् । आचारसंहितामा कुनै पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा स्थानीय तहको स्रोतसाधन दुरुपयोग गर्न नपाइने र जनप्रतिनिधिले आफ्नो पालिका बाहेकमा मात्रै आयोगको सहमतिमा दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न पाइने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगबाट तोकिएका मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि गत माघमै जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
आयोगले आमसञ्चारमाध्यमबाट विभिन्न किसिमका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवं प्रसारण गर्न पनि प्रारम्भ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले मतदाताको बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सबै स्थानीय तह, निर्वाचनमा सहभागी दल, उम्मेदवार तथा सञ्चारमाध्यम र सरोकारवालाई आग्रह गरे।
उनले निर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार र निर्वाचन आयोग तथा सुरक्षा निकायका साथै स्थानीय सरकारले स्रोत, साधनले भ्याएसम्म सहजीकरण भइरहेको बताए।