काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।
समूह ‘सी’मा रहेको नेपाल तीन खेल खेल्दा अंकबिहीन छ । स्कटल्यान्डले भने दुई अंक जोडेको छ । यो समूहबाट स्कटल्यान्ड र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् । इटाली र स्कटल्यान्डले दुईदुई अंक जोड्दा नेपाल भने अंकबिहीन छ । विश्वकपबाट बाहिरिसकेको नेपालमाथि आज सान्त्वना जित निकाल्ने अवसर बाँकी छ ।
नेपालको विश्वकप यात्रा
नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।
आरिफ शेख र दीपेन्द्रसिंह ऐरी । तस्बिरः क्यान
यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपालले लगातार दोस्रो पटक रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेलेको हो । तीव्र गतिका बलर सोमपाल कामी नेपालबाट तीन वटा विश्वकप खेल्ने एक्लो खेलाडी बनेका छन् ।
विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।