काठमाडौँ -यस वर्षको प्रणय दिवसमा सात करोड बरारबरको गुलाब बिक्री भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष नेपालमा खपत भएको धेरैजसो गुलाब भारतबाट ल्याइएको छ।
‘प्रणय दिवसमा नेपालमा भएको उत्पादन पनि यस वर्ष खपत भएको छ। तर धेरैजसो गुलाब भारतबाट ल्याइएको छ,’ श्रेष्ठले भने, ‘समग्रमा यस वर्ष ७ करोडको हाराहारीमा गुलाब बिक्री भएको छ।’
प्रणय दिवसमा गुलाबको महत्व हुन्छ। प्रेमको प्रतिकको रूपमा गुलाब दिने गरिन्छ। त्यसैले हरेक वर्ष प्रणय दिवसको दिन गुलाबको व्यापार बढ्दै गएको छ। खासगरी प्रणय दिवसमा गुलाब र तिहारमा सयपत्री फूलको मालाको व्यापार बढ्ने गर्छ। पछिल्लो समय नेपालमा फूलको व्यापार ह्वात्तै बढ्दै गएको छ।
विशेषगरी, गत वर्ष तिहारका बेला फूलमालाको व्यापार ४० करोड हाराहारीमा पुगेको थियो। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गत वर्षको तुलनामा यस वर्ष तिहारका बेला फूलको व्यापार पाँच करोड रुपैयाँले बढेको थियो।
एसोसिएसनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा वर्षभरि फूलको व्यापार तीन अर्बदेखि साढे तीन अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।