काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्। उनी कैलाश हेलिकप्टर मार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका हुन्।
पूर्वराजा शाहलाई स्वागत गर्न राजावादी समर्थकहरू विमानस्थल अगाडि भेला भएका छन्। सम्भावित भीड व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ। विमानस्थल क्षेत्र वरपर अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
यसअघि शाह बुद्ध एयर को नियमित उडानमार्फत काठमाडौँ आउने कार्यक्रम रहेको थियो। तर प्रतिकूल मौसमका कारण उडान ढिला हुने भएपछि उनले हेलिकप्टरमार्फत यात्रा गर्ने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले बताएका छन्।
विमानस्थल बाहिर समर्थकहरूले स्वागतका लागि झण्डा र नारासहित तयारी गरेका छन्। प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गर्दै प्रशासनले निगरानी कडा बनाएको जनाएको छ।