काठमाडौं । राजावादीको सम्भावित प्रदर्शनप्रति उच्च सतर्कता अपनाउँदै प्रहरीले काठमाडौंका मुख्य सडक र चोकमा शुक्रबार बिहानैदेखि गस्ती बढाएको छ । नियमित प्रहरी कार्यमा खटिने टोलीसहित थप टोली पनि स्ट्याण्डबाइ राखिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रवक्ता एसपी पवनकुमार भट्टराईले विभिन्न सडक, चोक र गल्लीमा हुनसक्ने अराजकतापूर्ण गतिविधिप्रति सचेत हुँदै थप संख्यामा प्रहरी परिचालन गरिएको बताए । राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको छ ।
बिहानैदेखि विमानस्थल प्रवेश गर्ने मानिसलाई चेकजाँच कडाइ गरिएको छ । यद्यपि चेकजाँच प्रहरीले गर्ने नियमित कार्य भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।
राजावादी प्रदर्शनकारीका कारण काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै काठमाडौंस्थित प्रहरीका विभिन्न गण, गुल्म तथा अन्य कार्यालयका प्रहरी टोली स्ट्याण्डबाई छन् ।
प्रवक्ता भट्टराईले आवश्यक परेको अवस्थामा तुरुन्तै परिचालित हुने गरी थप मद्दत टोली तयारी पारिएको बताए ।