काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।
महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।
यस्तै, पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण-विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्रि मनाउन पशुपतिनाथ मन्दिरमा विभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ । यस बर्षको महाशिवरात्रि फाल्गुन ३ गते आइतबार मनाइदै छ ।