काठमाडौँ। डोल्पा जिल्लामा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित जिउ गाउँबाट त्रिपुराकोटतर्फ जाँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेरो जिप बिहीबार करिब बिहान १०:३० बजे दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा जिउ गाउँका करिब ४५ वर्षीय धनचन्द्र धरालाको घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
घटनामा सोही गाउँका अन्दाजी ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी नगरपालिका-४ रंगकी ४५ वर्षीया रमा बोहोरा तथा सवारी चालक घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ।
जिप चालक सल्यान जिल्लाको कुमाख गाउँपालिका निवासी २५ वर्षीय एलिस बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाका कारण र अवस्थाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।