काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन ३ देखि १७ गतेसम्म देशभरका स्थानीय तहका सबै वडामा मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विशेष मतदाता शिक्षा अभियानअन्तर्गत प्रत्येक वडामा स्वयंसेवक खटाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
स्वीकृत कार्यक्रमअनुसार मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदानको औचित्य, निर्वाचन आचारसंहिता तथा भ्रामक वा गलत सूचनाबाट जोगिने उपायका बारेमा जानकारी दिइनेछ । यसका लागि वडा स्तरमै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रत्येक वडामा एक-एक जना स्वयंसेवक नियुक्त गरिनेछ । निर्वाचन कार्यालयले कम्तीमा एसइई वा सो सरह शैक्षिक योग्यता पूरा गरेका बालविकास सहजकर्ता, मातृ स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने व्यवस्था गरिएको छ ।