काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बदलिएर आएको काँग्रेसले देश बदल्ने बताएका छन्।
पार्टीको गण्डकी प्रदेश कार्यसमिति बैठकका लागि शुक्रबार पोखरा आएका थापाले जनताको घरदैलोमा जाँदा काँग्रेसले देश सम्हालेर सुधार गर्ने सन्देश लिएर जान आग्रह गरेका छन्।
सभापति थापाले सबै मतदाताका घरघरमा पुग्न र जनताका समस्यालाई धैर्यताका साथ सुन्नसमेत आग्रह गरेका छन्। राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति नागरिकमा रहेको चरम अविश्वासलाई सुधारबाटै जवाफ दिन आवश्यक रहेको उनले औँल्याए।
देश नै आत्मविश्वास गुमाएकोजस्तो अवस्थामा रहेकाले जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको भन्दै थापाले त्यसका लागि काँग्रेसले भूमिका खेल्नुपर्ने प्रस्ट्याए।
हाल देशमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै सभापति थापाले भ्रष्टाचारविरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको दाबी गरे। ‘काँग्रेससँग जादुको छडी छैन, तर सही नियम, प्रक्रिया र संस्था बनाएर देश चलाउने क्षमता छ,’ उनले भने।