काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन्न ।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बिमाको रकम नपाएको भन्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै बजेट अभावका कारण कार्यक्रम नै रोकिएको भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । साथै भारतमा निपाह भाइरसको सङ्क्रमण फैलिँदै गएको सन्दर्भमा खुला सीमाका कारण त्यस्तो सङ्क्रमण नेपाल भित्रिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा र सजगता अपनाउन उनले जोड दिइन् ।
सांसद डा बेदुराम भुषालले चालु वर्ष सदनमा पेस गर्ने भनिएका विधेयकको मस्यौदा तयार भए–नभएको विषयमा सरकारसँग जानकारी माग गरे । उनका अनुसार यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक पेश गर्ने भनिएको थियो । तीमध्ये कति विधेयकको मस्यौदा तयार भइसकेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।
सांसद मायाप्रसाद शर्माले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जलेर क्षति भएको नयाँ बानेश्वरस्थित संसद भवनको पुनर्निर्माणको अवस्थाबारे प्रश्न उठाइन् । आवश्यक सुरक्षा व्यवस्था अपनाएर पुनर्निर्माण गर्ने भनिए पनि हालसम्मको प्रगति के छ भन्नेबारे स्पष्टता माग गरे । साथै सिंहदरबारस्थित नयाँ संसद भवन निर्माणको काम कहाँसम्म पुगेको छ भन्ने विषयमा पनि उनले सरकारसँग जवाफ मागीन् ।
सांसद सुमित्रा बिसीले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले निर्वाचन दुई चरणमा गर्ने र निर्वाचन मिति सार्ने अभ्यास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा व्यक्त गरीन् ।