काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अघिल्ला निर्वाचनको अनुभवका आधारमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने बताएका छन्।
बिहीबार जनक शिक्षा सामग्री केन्द्रस्थित मतपत्र छपाइ केन्द्रको अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले निर्वाचन क्षेत्रहरूको अवस्था मूल्यांकन गरी सुरक्षा रणनीति तय गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएको छ र सोहीअनुसार सुरक्षा संयन्त्र परिचालन गरिनेछ।
गृहमन्त्रीले अति संवेदनशील तथा संवेदनशील क्षेत्रहरूमा पूर्वतयारीसहित विशेष सुरक्षा योजना कार्यान्वयन गरिने स्पष्ट पारे। देशमा राजनीतिक हिंसा र द्वन्द्वका घटना क्रमशः न्यून हुँदै गएको उल्लेख गर्दै उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरेका छन्।
उनले २३ र २४ भदौमा देश तथा मानवताले गम्भीर चुनौती भोग्नुपरेको सन्दर्भ स्मरण गर्दै वर्तमान सरकार नागरिकको सुरक्षा सुनिश्चित गर्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताए। प्रधानमन्त्रीबाट निर्वाचनका क्रममा कुनै पनि प्रकारको हिंसात्मक घटना हुन नदिने प्रतिबद्धता व्यक्त भइसकेको उल्लेख गर्दै सोही उद्देश्यलाई केन्द्रमा राखी निर्वाचन प्रक्रिया सञ्चालन गरिने गृहमन्त्रीको भनाइ छ।