काठमाडौँ। नेकपा एमालेले पछिल्लो समय सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार तथा पार्टी नेतृत्वविरुद्ध फैलाइँदै आएका भ्रामक र अमर्यादित सामग्रीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। पार्टीका अनुसार प्रविधिको गैर-जिम्मेवार प्रयोगले भ्रम सिर्जना गर्दै राजनीतिक वातावरण बिगार्ने प्रयास भइरहेको छ।
प्रचार विभाग प्रमुख तथा आम निर्वाचनका लागि पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र अन्य प्रविधिको प्रयोग राजनीतिक मर्यादा विपरीत भइरहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा कलाकारहरूको प्रयोगसहित प्रविधिको सहारामा पार्टी नेतृत्व, नीतिगत धारणा र निर्वाचन चिन्हसमेतलाई लक्षित गरी गलत सूचना फैलाइँदै आएकोप्रति पार्टीको ध्यानाकर्षण गराइएको छ।
एमालेले पार्टीको निर्वाचन चिन्ह परिवर्तन भएको जस्ता आधारहीन दाबी समेटिएका प्रचार सामग्री उत्पादन वा प्रसारण गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। यस्ता गतिविधिले निर्वाचन प्रक्रियामा भ्रम र अविश्वास बढाउने भन्दै त्यसको प्रतिवाद आवश्यक रहेको पार्टीको निष्कर्ष छ।
विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरिएका गालीगलौज, असभ्य शब्द र व्यक्तिगत मर्यादा तथा स्वतन्त्रतामाथि आघात पुग्ने सामग्रीप्रति पनि आपत्ति जनाइएको छ। यस्ता अभिव्यक्तिलाई अस्वीकार्य भन्दै पार्टीले नियमन र कारबाहीको माग अघि सारेको छ।
यसैबीच, शाहीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिसकेको जानकारी दिएका छन्। उनका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने सहमति भएको छ भने मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको छ।