काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर चुनावी सभाको सुरुवात गर्ने तयारी गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तय गरेको छ । त्यसबेला हुने सभाहरूका लागि कांग्रेसले वक्ताहरू पनि तय गरेको छ । कांग्रेसमा प्राय: निर्वाचन परिचालन समितिको संयोजक प्रमुख वक्ता हुँदै आएका छन् । कांग्रेसले यो निर्वाचनका लागि उपसभापति विश्वप्रकाश शर्मालाई ठुला सभाहरूमा वक्ता बनाउनेछ ।
त्यस्तै यो पटक कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ । तसर्थ सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार थापा र उपसभापति शर्मा निर्वाचन लक्षित सभाका प्रमुख वक्ता हुनेछन् ।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीले आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेकाले सभापति थापा र निर्वाचन परिचालन समितिको संयोजक भएकाले उपसभापति शर्मा चुनावी सभाका प्रमुख वक्ता हुने जानकारी दिइन् ।
‘भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति र निर्वाचन परिचालन समिति संयोजक उपसभापति चुनावी सभाका प्रमुख वक्ता हुने भन्नेछ,’ सहमहामन्त्री डा. संग्रौलाले भनिन्, ‘उपसभापति शर्मा त देशभरका सबै स्थानमा हुने प्रमुख सभामा जाने भन्नेछ ।’ सहमहामन्त्री संग्रौलाले सभापति थापाको माग पनि धेरै स्थानबाट आएको र भ्याएसम्म जाने भन्नेमा रहेको बताइन् ।
कांग्रेसले सभापति थापा र उपसभापति शर्मालाई चुनावी वक्ताका रूपमा देश दौडाहा गराउने तयारी पनि गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालयले त्यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले सभापति र निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति प्रमुख चुनावी वक्ताका रूपमा रहने जानकारी दिए । अरु वक्ता हुने स्थान अनुसार फरक–फरक हुनसक्ने चालिसेले बताए ।
‘सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार एवं निर्वाचन परिचालन समितिका संयोजक निर्वाचन केन्द्रित कार्यक्रमहरूमा प्रमुख वक्ताका रूपमा रहनुहुन्छ,’ प्रवक्ता चालिसेले भने, ‘बाँकी वक्ता भने स्थान अनुसार फरक–फरक हुन सक्नुहुन्छ ।’ठुला आमसभा र चुनावी समारोहका लागि दलहरूले वक्ता तोक्ने गरेका छन् । कांग्रेसले आयोगले तोकेको प्रचारप्रसारको अवधिमा कति ठुला चुनावी सभा गर्ने र कुन-कुन सभामा थापा र शर्मा जाने भन्ने एकिन गरिसकेको छैन । त्यसका लागि तालिका बनाउने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
उपसभापति शर्मा भने अहिले निर्वाचन लडेका छैनन् । २०७९ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्षतर्फ जितेका शर्माले यो पटक निर्वाचन नलड्ने घोषणा गरेका थिए । शर्माले देशभर चुनाव प्रचारप्रसारमा जाने र पार्टीबाट उठेका उम्मेदवारलाई निर्वाचित गराउन भरपुर रूपमा लाग्ने बताएका छन् ।